तिमी र म
रात केवल एक प्रहर बाँकी छ
तिन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ म छु र हाम्रो रहर बाँकी छ
आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।
यस्तो लाग्दै छ जीवन
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
यस्ता पनि हुन्छन
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
छोराको गति
बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी
डर
पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।
जिन्दगी जिउन
पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।
म र मेरो माया
थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि
पीरतिमा त अहो Û चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि माँया
जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्दा पनि
धोखा भयो त के भो, मजा छ
सम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।
तिम्रो माया
दियौ तिमीले धेरै माया त्यो मायाको 'मात' लाग्यो
छोडेदेखि मैले तिम्लाइ दिउसै पनि 'रात' लाग्यो
हुन्न भन्थेउ मायामा कोही सानो ठुलो
तर तिम्रो प्रिती साट्न मलाई 'जात' लाग्यो
जब देखि छैनौ तिमी यो मेरो साथमा
त्यो दिनदेखि फुल पनि मलाई 'पात' लाग्यो
छुन्न भन्थेउ तिमी बाहेक अरु कसैलाई
तर आज त्यो शारिर मा पराइको 'हात' लाग्यो
फूल बनी फुलिराख
मेरो जीवन तिमी नै हौ नसार है कतै
फूल बनी फुलिराख नझार है कतै ॥
मेरो लागि तिमीभित्र ठाउँ खाली गर
तिम्रै छेउमा आउने बाटो नबार है कतै ॥
ज्यून थालेँ आजभोलि तिम्रै पर्खाईमा
चोखो माया दिन्छु भन्दै नटार है कतै ॥
धड्कनभित्र तिमी नै छ्यौ छुनुमुनु गर्ने
बिछोडको छुरा धसी नमार है कतै ॥
मलाई ज्यूँदै भंगालोमा बगाएर फेरि
हात समाउँदै उस्लाई पारि नतार है कतै ॥
मेरो जीवन तिमी नै हौ नसार है कतै
फूल बनी फुलिराख नझार है कतै ॥
हजुरलाई
पैले पनि हजुरलाई अलच्छिना भाँडो भएँ
ऐले पनि हजुरलाई जिन्दगीमा घाँडो भएँ
फूलै–फूल मग्मगाउने सुकोमल चाहनामा
चस्स–चस्स हजुरलाई विझाउने काँडो भएँ
झिलिमिली आनन्दको सहर होला पल्लो पट्टि
अघिल्तिर हजुरलाई छेकिदिने डाँडो भएँ
कुद्दै– कुद्दै बल्ल–बल्ल आईपुगेँ यहाँसम्म
थाह छ कि हजुरलाई ढिलो भो कि चाँडो भएँ
पैले पनि हजुरलाई अलच्छिना भाँडो भएँ
ऐले पनि हजुरलाई जिन्दगीमा घाँडो भएँ
प्रतिविम्ब
एक विहान
पर्वको क्षितिजबाट होइन
तर तिम्रो सिउँदोबाट
सूर्य उदाएको देखेँ।
एक रात मध्य आकाशमा होइन
तर तिम्रो काखमा
जून निँदाएको देखेँ ।
एक मध्यान्ह रुखो हाँगामा होइन
तर तिम्रो अधरमा
लाली-गुराँस फुलेको देखेँ।
एक साँझ ऐनामा होइन
तर तिम्रो मुहारमा
मैले आफ्नो आकार
ओमकार भएको देखेँ।
0 comments:
Post a Comment